नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

सिक्टा सिंचाई आयोजना

नेपालगंज, बाँके

परिचय

 

संक्षिप्त परिचय

लुम्बिनी प्रदेश बाँके जिल्ला,राप्ती सोनारी गा.पा.को अगैया स्थित राप्‍ती नदीमा ब्यारेज ३१७ मी. निर्माण गरी सोही जिल्लाका हालका ६ वटा गा.पा.,कोहलपुर न.पा.र नेपालगंज उपमहानगरपालिका अन्तर्गतको ४२,७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइ सुबिधा उपलव्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै श्रोतबाट आ.व.२०६२।६३ देखि शुरु गरिएको सिक्टा सिंचाई आयोजनाको पश्‍चिम मूल नहरबाट वांके जिल्लाको राप्ति नदीको पश्‍चिम भेगको ३३,७६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्‍ती नदीको पूर्वी भेगको करिब ९,००० हेक्टर मा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य रहेको छ ।

    पृष्ठभूमि

सर्वप्रथम सिक्टा सिचाई आयोजनाको अवधारणा प्रस्तावित पश्चिम राप्ति बहुउदेश्य आयोजनाको लागि भएको पूर्व संभाव्यता अध्ययन (सन् १९७५ देखि सन् १९७६) प्रतिवेदनमा उल्लेख भएको हो । सिक्टा सिंचाइ आयोजनाको पूर्व संभाव्यता अध्ययन यू.एन.डि.पि. र एशियाली विकास बैंकको सहयोगमा जर्मन परार्मश दातृ फर्मबाट वि.सं. २०३२ (सन् १९७५) मा भयो भने यस आयोजनाको संभाव्यता अध्ययनको प्रतिवेदन सोहि संस्था वाट वि.सं २०३६ (सन् १९८०) मा पेश भयो । यस अध्ययनबाट आयोजना संभाव्य देखिएकोले वि.स. २०३६ मा आयोजना कार्यान्वयन गर्न एशियाली विकास बैंकसंग आर्थिक सहायताका लागि अनुरोध गरिएकोमा भारतीय पक्षको सहमती प्राप्त गर्न नसक्दा एशियाली विकास बैंकले आर्थिक सहायता उपलव्ध गराउन असमर्थता प्रकट गरेकाले यस आयोजनाको कार्यान्वयन अघि बढ्न सकेन ।

यस आयोजनाको पुन संभाव्यता अध्ययन वि.सं २०४० (सन् १९८३) मा तत्कालिन सिंचाइ वातावरण तथा मौसम विभाग अन्तर्गत क्षेत्रिय सिंचाई निर्देशनालयबाट भयो भने यूरोपेली यूनियनको आर्थिक सहयोगमा यस आयोजनाको संभाव्यता अध्ययन अन्तिम पटक वि.सं. २०५९(सन् २००२) मा गरियो । यूरोपेली ईन्जिनियरको सहभागितामा सम्पन्न यस अध्ययनबाट यो आयोजना प्राविधिक एवं आर्थिक पक्षबाट संभाव्य देखिएकाले आयोजना कार्यान्वयनमा लैजान सिफारिस गरियो । संभाव्यता अध्ययन अनुसार यस आयोजनाको कुल लागत त्यस समयमा ७ अरब ४५ करोड अनुमान गरिएको थियो । योजनाको कार्यान्वयन अवधि सात वर्ष राखिएको थियो ।

आयोजना आकर्षक देखिएपछि कार्यान्वयनका लागि आर्थिक श्रोत जुटाउने क्रममा यूरोपियन यूनियन,साउदी फण्ड फर डेभलपमेण्ट (एस.एफ.डी),कुवेत फण्ड फर अरब इकोनोमिक्स डेभलपमेन्ट तथा ओपेक फण्डलाई अनुरोध गर्दा यी सम्पूर्ण दातृ संस्थाहरुले अभिरुचीका साथ आर्थिक सहयोग उपलव्ध गराउन अघि सरेका थिए । करीब १० करोड अमेरीकी डलर लाग्ने आयोजनाको निर्माणका लागि उपरोक्त संस्थाहरुले आपसमा कसले कति रकम सहयोग गर्ने समेतको बाँडफाँड भैसकेपछि विविध कारणवश दातृ संस्थाहरुको सहयोग प्राप्त हुने अवसरबाट यो आयोजना पुनः बञ्चित हुन पुग्यो । 

बाह्य आर्थिक सहायता उपलव्ध नहुने देखिएपछि बाँकेको सुख्खा भूमिमा सिंचाइ सुविधा उपलव्ध गराउन सकिने एकमात्र विकल्प रहेको सिक्टा सिंचाइ आयोजनाको कार्यान्वयनका लागि आन्तरिक स्रोतबाट रकम उपलव्ध गराउनु नै निर्विकल्प हुन गयो । यस अनुरुप सिंचाइ विभागले नेपाल सरकारको आर्थिक तथा प्राविधिक स्रोतबाट मूलबाँध तथा मूलनहरको निर्माण प्रकृया ठेक्का व्यवस्थापन गरि अगाडि बढायो ।

वहुवर्षीय रूपमा सञ्चालन हुने यस आयोजनाको शुरू गुरूयोजना (रू. १२ अरव ८० करोड)  २०६४/८/३  मा आ व २०७०/०७१ सम्म सम्पन्न गर्ने गरी  स्वीकृत भएको थियो ।सो गुरू योजनामा तीन चरण (फेज)मा आयोजना सम्पन्न गर्ने कल्पना गरिएको तर पहिलो र दोस्रो चरण सम्मका कार्यका लागी  मात्र १२.८ अर्ब को अनुमान गरिएको र तेस्रो फेजको लागत समावेस नभएको अवस्थामा राप्ती नदी पूर्व ९,००० हेक्टर थप कमाण्ड एरिया हुने गरी  पूर्वी मूलनहर पनि निर्माण गर्ने लगायत अन्य संरचनाहरू समावेश गरि आ.व.२०७६/७७ (१५ बर्ष) मा सम्पन्न गर्ने लक्ष्य सहित रू. २५ अरव २ करोड को संसोधितगुरूयोजना आ.व. २०७१/७२ मा स्वीकृत भएको देखिन्छ|

आ.व.२०७६/७७ मा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य सहितको स्वीकृत पछिल्लो खरिद गुरूयोजना अनुसारको लक्ष्य हासिल नभएको अवस्थामा सोहि लागत भित्र रही अध्यावधिक खरिद गुरुयोजनाको म्याद थपको प्रस्ताव पुनः पेश गर्ने निर्देशन/निर्णय भएकोमा आ.ब. २०७८/०७९को असार मसान्तमा आयोजनाबाट भैरहेको निर्माण कार्यहरूको प्रगति र भविष्यमा गर्नुपर्ने बाँकि कार्यहरुकोDPRप्रतिवेदन तथा अनुमानित लेखाजोखा गर्दै अद्यावधिक गरिएको संशोधित गुरुयोजना बमोजिमको लागत अनुमान रू. ५२.६४ अर्बको सम्पूर्ण कार्यहरु आ.व. २०८९/९० संम्पन्न गर्ने गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ७ वमोजिम उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयबाट बि.सं. २०७९ भाद्रमा स्वीकृत भएको छ।

आयोजनाले बाँके जिल्लाको १७ हजार घरधुरीका ४ लाख कृषकले फाइदा लिने देखिन्छ  साथै आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहेको र बाली सघनता १६८ प्रतिशत बाट २४२ प्रतिशतमा पुर्याउने लक्ष्य रहेको छ ।

हाल सम्म आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका मुख्य कार्यहरु:

      १.    हेडवर्क्स (Civil and Hydro mechanical works)

      २.    पश्चिम मूल नहर (४5.२५ कि.मी.)

      ३.    जग्गा अधिग्रहण (११०.५५ हे.)

4.   पश्चिम मूल नहरका ४ वटा शाखाहरू (अकलघरवा ४.६ कि.मी.,गोहवा २.०५ कि.मी.,प्रसेनीपूर ४.६ कि.मी. र पिडारी शाखा ४.१ कि.मी.)     

   चालु आ.व. २०७९/०८० मा आयोजना अन्तर्गत हाल संचालनमा रहेका निर्माणाधिन कार्यहरु:

      १.    शिधनीया शाखा 0.८ कि.मी. को काम भइरहेको र चालु आ.व.मा सम्पन्न हुने

      २.    पूर्वी मूल नहर (आ.व.२०७४/७५ वाट शुरू भएको) उक्त ठेक्का बाट ३७+३००  चेनेज सम्म पक्कि संरचना सहित को मूल नहर र शाखा नहर (राजकुलो,S1,S2,S3,S4,फत्तेपुर)निर्माणाधीन रहेको र चालु आ.व.सम्म सम्पन्न हुने

      ३.    सिञ्चित क्षेत्र वचावट कार्य (केही स्थानहरूमा भइरहको)

      ४.    वातावरणीय प्रभाव मूल्यांकन तथा वचाव कार्य

      ५.    जग्गा अधिग्रहण (मूल नहर,शाखा र प्रशाखा नहरहरू)