वि.सं. २०३२।३३ मा पूर्व सम्भाव्यता अध्ययन पश्चात् आयोजनाको सम्भाव्यता अध्ययन संयुक्त राष्ट्र विकास कार्यक्रम र एसियाली विकास बैंकको सहयोगमा जर्मन परार्मशदातृ फर्म Lahmeyer International GmbH ले वि.सं.२०३७ सालमा सम्पन्न गरेको हो । राप्ती नदीमा बाँध निर्माण गरीे राप्ती नदी पश्चिम (दायाँ) ३३,७६६ हेक्टर र राप्तीपूर्व (बायाँ) ९,००० हेक्टर गरी कूल ४२,७६६ हेक्टरमा सिंचाइको लागि पानी उपलब्ध गराउन सकिने संभावना देखियो । वि.सं. २०३८—४० सालमा Department of Irrigation, Hydrology and Meteorology (DIHM) बाट विस्तृत सम्भाव्यता अध्ययन गरेको हो । तत्पश्चात् आयोजना निर्माणको लागि बैदेशिक सहयोगको लागि प्रयास भएतापनि विविध कारणबाट दातृनिकायहरुवाट आर्थिक सहयोग जुट्न सकेन । वि.सं. २०५९ सालमा यूरोपेली संघको सहयोगमा पुनः यस आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । नेपाल सरकारकै बजेटबाट यस आयोजनाको कार्यान्वयन शुरु गर्ने निर्णय आ.व. २०६१/०६२ मा भई आ.व. २०६३/०६४ बाट निर्माण कार्य शुरु भएको हो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको बाँके जिल्लामा अवस्थित सिक्टा सिंचाइ आयोजना यस जिल्लाको अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाका ४३ वटा गा.वि.स. र नेपालगंज नगरपालिका अन्तरगतको ४२,७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलव्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै श्रोतबाट आ.व.२०६१।६२ देखि शुरु गरिएको हो । यस आयोजनाको निर्माणाधिन पश्चिम मूल नहरले वांके जिल्लाको राप्ति नदीको पश्चिम भेगको ३३७६६ हे जमिनमा सिंचाई पुयाउने लक्ष्य लिएको छ भने प्रस्तावित पूर्वि मूल नहरले राप्ति नदीको पूर्वी भेगको करिव ९००० हे मा सिंचाई सुविधा पुयाउने लक्ष्य राखेको छ